केही बर्ष अगाडीको मात्र सम्झना गर्ने हो भने बुढापाकाहरुले भन्ने गर्थे उत्तम खेती मध्यम व्यापार, सुचना र प्रवृतीले कोल्टे फरेको छ । अहिले व्यापार व्यवसायहरु प्रमुख आम्दानीको स्रोतका रुपमा देखिएका छन् । छिटो आम्दानी गर्ने माध्यामहरु अहिले खेती र व्यापार भन्दापनि उपभोक्ता समितिहरु, एनजिओहरु लगायतका अन्य कुराहरु यसभित्र देखिएका छन् ।
त्यो सँगै अँझै छिटो कमाइ गर्नका लागि अनियमितता र भ्रष्ट्राचार पनि पर्ने गरेको छ । खैर विभिन्न बाहनाहरुमा कमाउने होडबाजी देखिरहेको हाम्रो समाजमा अहिले नियमित रुपमा कृषि उत्पादन गरेका मानिसहरुको जीवनस्तरमा निकै ठूलो सुधार देखिएको छ । मेहनत गर्न सकेको खण्डमा र एउटैमात्र व्यवसायलाई निरन्तरता दिन सकेको खण्डमा पक्कै पनि त्यस्ता व्यवसायिहरुले मुनामा मात्र हैन् राम्रो आम्दानी समेत गर्न सकेका उदाहरणहरु हाम्रै गाउँघरमा पनि धेरै देखिएका छन् ।
नगरपालिका –२ का सर्वराज थापाले गरेको मेहनतको कुरा निकै गहकिलो गरि अध्ययन गर्ने जो कोहीको लागि पनि राम्रो सिकाइ हुन सक्छ । बिगत १५ बर्षदेखि तरकारी खेती मात्रै गर्दै आएका उनको हिजो र आजमा पक्कै पनि भिन्नता देखिएको छ । मेहनत गरेको खण्डमा गौरवका र सम्मानका साथ समाजमा बस्न सकिने र मान्यजनको रुपमा समाजमा स्थापित हुन सकिने रहेछ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको यस्ता मेहनती अन्य कृषकहरुका बारेमा समेत सम्वन्धित निकायहरुले चासो देखाउनुपर्ने देखिएको छ । कृषि पेशालाई मुख्य पेशा बनाएर आर्थिक उपार्जन गर्ने सोच गरेका अन्य कृषकहरुले समेत सफल कृषकहरुको परिश्रम र लगनसिलता सिक्नुपर्ने देखिन्छ ।








