बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनको दिन सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प गएपछि सर्वसाधारणमा त्रास देखिएको छ । त्यति मात्र होइन मंगलबार आधा घण्टाको बीचमा नै ५ रेक्टर स्केलभन्दा माथिका चार वटा भूकम्प गएकाले पनि सर्वसाधारणमा त्रासको वातावरण बढेको हो । सामान्यतया ठूलो भूकम्प गएको २४ घण्टाभित्र अर्काे ठूलो भूकम्प आउने सम्भावना रहने र त्यस्तो अर्को भूकम्प आएपछि झन्डै ८० वर्षसम्म ठूलो स्केलमा नआउने तर सानातिना पराकम्पनहरू आइरहने भूकम्पविद्हरूको भनाइ थियो। यस हिसाबले वैशाख १३ गते ६.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसपछि सानातिना पराकम्पनहरू मात्रै भएकाले सर्वसाधारण ठूलो भूकम्प नआउने कुरामा ढुक्क जस्तै थिए। त्यसैका कारण काठमाडौंलगायत भूकम्प प्रभावित जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको थियो। तर, १८ दिनपछि ठूलो स्केलको भूकम्प आएपछि भने सामान्य र सहज बन्दै गएको जनजीवन फेरि एकपटक खल्बिलिएको छ।
मंगलबार गएको भूकम्पले पनि हजारभन्दा बढी घाइते भएका छन् भने दर्जनौंको जीवन गएको छ। १८ दिनअघि आएको भूकम्पले मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ।
त्यसैले पनि यस्तो सम्भावित जोखिमबाट बच्नका लागि सर्वसाधारण आफैले पनि सावधानी अपनाउनु आवश्यक छ। सर्वसाधारणले अपनाउने सावधानी भन्नाले चर्किएका तथा धराप भएका घर, पर्खाल र अन्य संरचनाहरूको नजिक बस्नु हुँदैन। भूकम्प आएको अवस्थामा आत्तिएर भागदौड गर्ने होइन, चनाखो हुने र पूर्वसावधानी अपनाएर सुरक्षित स्थानमा रहनुरबस्नु उपयुक्त हुन्छ।








