सुरुका दिनमा भूकम्पले ल्याएको विपत्तिप्रति सहानुभूति प्रकट गर्दै चारैतिरबाट सहयोगका आश्वासन ओइरिएको छ । सहयोगको यो अवसरलाई उपयोग गर्न सकेमा मुलुकको नवनिर्माण सहजै अघि बढ्ने देखिन्छ । हामीले कठिन अग्निपरीक्षाबाट गुज्रनैपर्ने रहेछ ।
आन्तरिक शक्तिलाई यतिबेला जगाउनैपर्ने रहेछ । विश्व एउटै घर भएको यो भूमण्डली करण को जमानामा हामी एक्लै छैनौं । सहयोगको वातावरण छैन भन्न सकिन्न । तर ‘ईश्वरले तिनैलाई मद्दत गर्छन, जो आफ्नो मद्दत आफैं गर्न तत्पर रहन्छन’ भन्ने उखान नै छ । त्यसैले हात मात्र फैलाएर बस्ने, आफंैभित्र ठूलो शक्ति छ भनेर नसोच्ने, पराश्रित मानसिकतामा झुलिरहनेहरू कहिल्यै पार तर्न सक्दैनन् । यसो भनेर सबै कुरा विदेशी सहायतातर्फ जोड्न खोजेको चाहिँ होइन । विदेशीको भरमा मात्रै विपत्तिलाई अवसरमा बदल्न भने सकिन्न भन्न खोजिएको हो । बाह्य सहयोगले त यो विपतको केबल टालटुल मात्रै हुन्छ, मलमपट्टी मात्रै हुन्छ । हामी धेरै वर्षसम्म घायलको घायलै रहन्छौं । खाटो बस्दा नबस्दै फेरि अर्को घाउ आइलाग्न पनि सक्छ । अनि कहिले तन्दुरुस्त हुने ?त्यसैले एक पटक आफैंभित्र फर्केर हेरौं । आफैंसँगका सम्भावनातर्फ नियालौं । कतै आफंैभित्र सुगन्धको पोको रहेको चाल नपाएर वनवनै भौंतारिने कस्तुरी–मृग त भइरहेका छैनौं ? राजनीतिक कोलाहलले हामीलाई अन्तै अल्मल्याइरहेको त छैन ? त्यसैले यो विपतीमा विदेशी बाट आएका सहयोग हरु लाई बालुवामा पानी खन्याएझै नगरि सही सदुपयोग गरी विपतीलाई पनी अबसरको रुपमा बदल्ने पो हो की ?








