सतर्कता अपनाउन जरुरी

 १२ वैशाखमा गएको भूकम्पपछिका पराकम्पन क्रमश कम  हुँदै गएको र राजधानी लगाएत अन्य भूकम्पबाट प्रभावित जिल्लाको जनजीवन पनि विस्तारै सामान्य हुँदै गएको अवस्थामा मंगलबार गएको अर्को भूकम्पका कारण फेरि जनजीवन असामान्य भएको छ । मंगलबार मध्यदिनमा गएको अर्को शक्तिशाली भूकम्पपछि मानिसहरुमा फेरी त्रासपूर्ण वातावरण बनेको छ ।  पहिलो भूकम्पका कारण पीडामा रहेका जनता अर्को भूकम्पका       कारण थप आहत भएका छन् । खासगरी मंगलबारको भूकम्पबाट १२ वैशाखमा गएको भूकम्पका कारण भत्केका घरका भग्नावशेष पन्छाउने, पुरिएका सरसामान खोज्ने क्रममा लागेका मानिसको मृत्यु भएको छ, उनीहरू नै घाइते भएका छन् । यसले अझै थप केही समय सतर्कता अपनाउन जरुरी रहेको संकेत गरेको छ । अब सरकारले भूकम्प तथा भूगर्भविद्को समेत सल्लाह र सुझाब संकलन गरेर जनतालाई सुसूचित गर्नु आवश्यक देखिएको छ । भूकम्पका समयमा आत्तिएर दौडिँदा हुने दुर्घटनाका कारण कतिको ज्यान जाने र कैयौँ घाइते हुने गरेको देखिएको छ । त्यसैगरी यस्ता भूकम्पले के नै गरिहाल्छ र भनेर ढुक्क हुँदा पनि कतिको ज्यान जाने र कैयौँ घाइते हुने गरेको पनि देखियो । त्यसैले भूकम्पपछि सबैले सचेत भएर धैर्य नगुमाई आफू र आफन्तलाई जोगाउँदै सुरक्षित स्थानमा पुग्नु उचित हुन्छ ।
१२ वैशाखको भूकम्पले चर्काएका, कमजोर बनाएका र ढल्काएका घर मंगलबारको भूकम्पबाट भत्केका छन् । यसबाट सबैले आ–आफ्ना घरको प्राविधिक परीक्षणलाई प्राथमिकता दिनु आवश्यक देखिएको    छ । आफ्नो घरमा सानोभन्दा सानो क्षति देखिए पनि निच मारेर बस्न हुँदैन रहेछ भन्ने मंगलबारको भूकम्पपछि ढलेका घरहरूको अवस्थाले संकेत         गरेको हुनाले सबैले प्राविधिकलाई देखाएर आवश्यक सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । अब           सरकारले तत्काल आफ्ना उद्धार टोलीलाई परिचालित गरी भूकम्पबाट बढी प्रभावित क्षेत्रमा खटाउनुपर्छ । उद्धार र राहतका लागि आवश्यक आफ्ना सम्पूर्ण अंग परिचालन गर्न ढिलासुस्ती गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार