राष्ट्रलाई अहिले निकै ठूलो संकट परेको छ । राष्ट्र संकटमा परेका बेला नदुख्ने मनहरु सायद कमै होलान् । अँझै अर्को शब्दमा भन्ने हो भने नेपाली मनहरु निकै कोमल र भावुक हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्नका लागि कँही न कतै साना तिना समस्याहरु भएका होलान् तर मुख्य रुपमा राष्ट्रिय विपत्ती पश्चातका फुटेका मनहरु मिल्न सकेमा मात्र मुलुकले नयाँ परिवर्तन देख्न पाउने छ भने दुःख पाएका मनहरुमा मलम पट्टी लगाउन सजिलो हुने छ ।
अहिले मुलुकको समस्या समाधानका लागि निकै चर्चा र बहस बनेको राहत, पुर्नस्थापना र क्षतीपुर्ती सँगै यि सवै कामहरुलाई सहजता प्रदान गर्नका लागि पनि राष्ट्रिय सरकार निर्माण निकै महत्वपुर्ण कुरा भएको छ ।
अव निर्माण हुने सरकारले संविधान निर्माणको मार्ग प्रशस्त गर्दै जनतामा देखिएको राजनीतिक बितृष्णालाई समेत अन्त्य गर्ने अभियानलाई महत्वका साथ अगाडी बढाउनुपर्ने देखिन्छ । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र नेपाली स्वतन्त्रतलाई धावा बोल्ने खालका कामहरुलाई समेत राष्ट्रिय सरकार र राष्ट्रियता रक्षाको एक नीति निकै आवश्यक देखिएको छ । अव सरकार गिराउने र सत्तामा जाने खेल होईन कि ? सरकारमा सवै मिलेर नेपाललाई संविधान सँगै भूकम्पले कुरुप बनाएका नेपालका ऐतिहाँसिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको नयाँ पन दिन एक स्वर र एउटै मन हुनुपर्ने आवश्यकता देखिएको छ । प्रधानमन्त्रीको कुर्सीका लागि लुछाचुडी नगरेर अब सबै राजनीतिक पार्टीहरु एकताबद्ध तवरले अघि बढ्नुपर्ने मुलुकको आवश्यकता हो ।








