अहिले दैलेखका दुर्गम स्थानहरुमा गरिएका भौतीक पुर्वाधार तर्फका बिकास गतिविधिहरुमा गुणस्तरमा निकै कमि देखिएको छ । दुर्गमका नागरिकहरुले केवल आफ्नो गाउँमा बिकास आयो भन्नेमा खुःशी व्यक्त गर्ने तर कति रकम आयो, कति गुणस्तर युक्त योजना बन्नुपर्ने हो कहिले सम्म सम्पन्न गर्नुपर्ने हो , निर्माणको जिम्मा कसले लिएको हो र त्यस्ता भौतीक संरचनाहरुमा जनताहरुको अधिकार के हुने भन्ने वारेमा जानकारी नभएका कारण पनि गाउँमा निर्माण गरिने बिकासका पुर्वाधारहरुमा समस्या देखिएको छ । दुर्गमका नागरिकहरुलाई सहज र सुलभ स्वास्थ्य सेवा संचालनका लागि दैलेख जिल्लाका विभिन्न स्थानहरुमा नेपाल सरकारसँगै अन्य निकायहरुमार्फत निर्माण गरिएका स्वास्थ्य संस्थाहरुको अवस्था दिनप्रतिदिन दयनिय हुँदै गएका छन् ।
दुर्गम स्थानहरुमा निर्माण गरिएका स्वास्थ्य संस्थाहरुको प्रभावकारी अनुगमन र यसको नियमन गर्ने निकायहरु नभएकै कारण दैलेखका धेरै स्वास्थ्य संस्थाका भवनहरु चर्किएका छन् ।
कतिपय स्थानमा कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले काम छोडेर भागेका छन् । कतिपय निर्माण सम्पन्न नभएकै भवनहरुमा स्वास्थ्य संस्थाहरु चलाउनुपर्ने बाध्यतामा रहेका छन् ।
यस्ता भवन निर्माणको जिम्मा लिएका सम्वन्धित निकायहरुलाई तत्काल कार्वाही प्रक्रियामा ल्याउनका लागि स्थानीय प्रशासनले पनि अलि बढी चासो दिनुपर्ने देखिएको छ । सम्बन्धित निकायहरुले चासो नदेखाएकै कारण पनि जिल्लाका विभिन्न निकायहरुबाट हुने भौतीक पुर्वाधार बिकासमा समस्या थपिदै गएको छ ।








