नेपालको नयाँ सिमाँकनका बिषयलाई लिएर भिन्न भिन्न बहस र छलफलहरु हुन थालेको पछिल्लो अवस्था अलि हिंसात्मक हुन थालेपछि त्यसले सामाजिक सद्भावलाई समस्यामा पारेको देखिन्छ ।
निकै महत्वपुर्ण सँस्कृतिका रुपमा रहेको थारु समुदाय र अन्य समुदायको संरचना बिगार्ने गरि भएको टिकापुर घटना अँझै सेलाउन पाएको छैन् । गल्ति र कमजोरी क –कसको भयो त्यसको गम्भिर समिक्षा गर्नुपर्ने देखिन्छ ।
अखण्डको नाममा अनाहकमै कुर्लेका केही नेताहरुलाई समेत टिकापुर घटनाले समस्यामा पारेको छ ।
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिंमाँकनको कुरा अगाडी बढाएको भए र बैज्ञानीक ढंगबाट यसको टुगोंमा पुग्ने प्रयास गरेको भए आज यस्तो अवस्था आउने थिएन । अहिले मुलुकका तराईका विभिन्न भू भागहरुमा सामाजिक सद्भाव विथोल्ने केही शक्तिहरु सक्रिय भएको कुरा नकार्न नसकिदैन ।
हिजो निर्णय गर्दा अलिकति पनि नसोचेको सुदुर पश्चिमका नेताहरु अहिले आफ्नो राजनीतिक भविष्य समेत धरापमा पर्ने खतरा देखेपछि थारु–पहाडी–जनजातिलगायत मिलेर नबसे नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले आपसी सद्भाव कायम गर्नुपर्ने भन्दै भाषण गर्न थालेका छन् । शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनको निश्कर्ष नपुग्दै अनाहकै प्रहरी प्रमुख सहितको हत्याले उब्जाएको प्रश्नले न त थारु समुदायको मागको सम्बोधन हुने देखिन्छ नत सामाजिक सद्भाव नै कायम हुने देखिन्छ ।








