नेपालमा ठूलो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न संविधानसभाले बनाएको संविधान जारी भएपछि भारतले नाकाबन्दी गर्यो । भारतको स्वार्थ पूरा नभएपछि उसले अघोषित रुपमा नाकाबन्दी गरेको छ, मधेशवादीको आन्दोलनलाई कारण देखाएर । यसले के सन्देश दिएको छ भने नेपाल भारत निर्भर हुनुको ठूलो मूल्य यतिबेला चुकाइरहेको छ । अब त्यो अवस्थाबाट हामी नेपाली माथि उठ्नुपर्छ । यसका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्छ ।
नेपालका उत्पादन भारत पठाएर भारतको उत्पादन नेपाल ल्याउने परिपाटी नै सबभन्दा खराब पक्ष हो । बाँकी रह्यो इन्धन, अब इन्धनको रुपमा जलविद्युतलाई उपयोग गर्ने नीति लिएर सोही अनुसारको काम गर्ने हो भने केही वर्ष्भित्रै नेपालमा इन्धन भनेको पेट्रोलियम पदार्थ मात्रै हो भन्ने भ्रम हट्नेछ । खाना पकाउन तथा सार्वजनिक यातायातका साधन विद्युतबाट चल्ने संचालन गर्ने हो र त्यस्ता सवारी साधनको भरपर्दो व्वस्था गर्ने हो भने निजी सवारी साधन रोज्नेको संख्या पनि कम हुनेछ ।
नेपालमा अहिले खाना पकाउने ग्यासमा वार्षिक जति खर्च भैरहेको छ त्यसले इन्धनका लागि मात्र उपयोग गर्ने गरी जलविद्युत आयोजना संचालन गर्न पुग्छ । त्यस्तै डिजेलमा खर्च भएको ठूलो रकम पनि त्यसैमा लगाउन सकिन्छ । तर, यसका लागि पहिला पेट्रोलियम पदार्थको वैकल्पिक ऊर्जा त दिनुपर्यो । इन्धन र ऊर्जाका लागि जलविद्युत र बायोग्यासलाई प्राथमिकताका साथ अघि बढाउने हो भने ऊर्जाका लागि भनेर अहिले खर्च भैरहेको ठूलो रकम बचत हुन्छ । त्यो रकम मुलुकको अर्को क्षेत्रको विकासमा लगाउन सकिन्छ ।
नेपालको विकास नेपालीले नै गर्ने भएकाले विदेशीको एजेण्डा र उनीहरुको निर्देशनमा आयोजना बनाउने काम पनि बन्द गरिनुपर्दछ । नेपालमा पूँजी नभएको हैन, भएको पूँजी परिचालन गर्न ढंग नभएको हो । एउटा सानोभन्दा सानो कम्पनीको केही करोड रुपैयाँको शेयर निस्काशन हुँदा अर्बभन्दा बढीको आवेदन पर्छ । यो लगानीयोग्य पूँजी हो । जनतामा छरिएर रहेको पूँजी उपयोग गर्नेतिर सरकारी ध्यान जानुपर्दछ ।
अब नेपाली मोडलको विकास योजना कार्यान्वयनमा नल्याउँदासम्म हाम्रो गति यस्तै रहनेछ । केही समय दुःख पाउँ तर विदशीको दवाव र निर्देशनको वेवास्ता गर्दै आफ्नै मौलिक पारामा विकासको योजना अघि बढाउने हो भने ३ वर्षभित्र नेपालले धेरै फड्को मारिसक्छ ।








