आन्तरिक समस्याको नाम लिएर मुलुकले बाह्य हस्तक्षपको सामना गरिरहेका बेला बाबुराम भट्टराईले खोल्दै गरेको नयाँ पार्टी र नयाँ शक्तिको चर्चालाई भिन्न भिन्न दृष्टिकोणबाट ब्याख्या र बिश्लेषण गर्न थालिएको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पढाई लगायतका बिषयहरुमा सँधै प्रथम भएपनि राजनीतिमा प्रथम हुन नसकेको बेला उनले सुरु गरेको नयाँ शक्ति मुलुकको निकाशका लागि हुने हो वा संकटमा झन संकट थप्ने हुने हो, त्यसको अन्तिम निर्णय भने हुन बाँकी रहेको छ ।
काठमाण्डौंमा र तराईका जिल्लाहरुमा बेला बेलामा पुगेर बाबुराम भट्टराईले आफुले नयाँ शक्तिको सुरुवात गर्ने बारे चर्चा गर्दै हिडेका छन् । संविधान जारी गरेपश्चात देखिएको संकट समाधानमा उनको भूमिकाको बारेमा सवैले चाहना गरेका बेला पार्टीको सामान्य सदस्य समेत नरहने गरि राजिनामा दिएका भट्टराईलाई नयाँ शक्तिको प्रमुख हुने मोह पलाएको र भारत परस्त भएर काम गरेको आरोप समेत बिभिन्न सामाजिक संजालहरु लाग्दै आएको छ भने कतिपय बिश्लेषकहरुले समेत गतल समयमा अभियान थालेको भन्दै नकारात्मक कुराहरु पनि सुरु गरेका छन् ।
कतिपयले भट्टराईले राम्रो कामको सुरुवात गरेको पनि बताएका छन् तर समग्रमा देशको बर्तमान अवस्थालाई सुधार गर्नुभन्दा व्यक्तिबादी कुरालाई बढी महत्व दिएको भन्दै अधिकाँस बाबुराम भट्टराई निकटका कार्यकर्ताहरुले समेत आक्रोस पोखेका छन् ।
मुलुकमा देखिएको अहिलेको संकट समाधानका लागि मात्र हैन दुरगामी रुपमा भट्टराईले लिएको नीति र पद्धतीमाथी उठेका प्रश्नहरुको जवाफ दिदै उनीप्रति लागेको आरोप खण्डन गर्दै नयाँ शक्ति निर्माण गर्न पक्कै पनि चुनौती देखिएको छ ।
काठमाण्डौंबाट बिशेष अभियान थाल्ने उद्घोष गरेका भट्टराईको नयाँ शक्ति देशको निकासको लागि सदुपयोग भए पक्कै पनि भोलिका दिनहरुमा नेपाली जनताहरुले सहयोग गर्ने देखिन्छ संकटमा झनै संकट थपेर मुलुक कमजोर हुने खालको काम नयाँ शक्तिले गरेमा आम नागरिकहरु सचेत भैसकेकोले उनको राजनीतिक भविष्य झनै अन्यौलमा पर्ने देखिन्छ ।








