मौलाउदो कालो बजारी

आम नेपालीले जनयुद्ध कालमा होस या अन्य विभिन्न समयमा हुन आन्दोलनमा जति पीडा भोगे तर, यस्तो परिस्थितिचाहिँ भोगिएको थिएन जुन अहिले भइरहेको छ । मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीले सहर, गाउँ, पहाड, तराई, हिमाल मुलुकका सबै क्षेत्र र समुदायलाई उत्तिकै प्रभावित बनाएको छ । मधेसी समुदाय आन्दोलनमा संलग्न भएकाले मधेसवासीहरूले चाहिँ दुख पाएका छैनन् भन्ने ठानियो भने त्यो गलत हुनेछ । आन्दोलन भएका क्षेत्रमा सुरुदेखि नै सर्वसाधारणले दुःख पाएका छन् । बिहान काममा गएर साँझ खानुपर्नेहरूको जीवनहरु यतिका समयको बन्दले कस्तो बनायो होला, अभावको गहिराइ कहाँ पुग्यो होला जो कोहीले अनुमान गर्न सक्छ । काठमाडौं या अन्य सहरको जीवन सबैको एकनास छैन । सहरहरूमा कालोबजारी स्थापित हुँदै छ । झट्ट हेर्दा पेट्रोल र ग्यासको मात्रै अभाव देखिए पनि यहाँ हरेक कुराको कालोबजारी सुरु भएको छ । कालोबजारी स्थापित हुनु असफल राष्ट्रको सूचकमध्येको एउटा हो । अहिले बजारमा       जसरी सामानहरू बिक्री  भइरहेका छन यसप्रकारको ‘ब्ल्याक मार्केट’ मुलुकमा यसअघि देखिएको थिएन । कहिलेकाहीँ कतिपय वस्तुको कालो      बजारी हुने गथ्र्यो । तर, यसप्रकारले हरेक वस्तुको कालो बजारी यो मुलुकको इतिहासमै शायद यो पहिलोपटक हो । कालो बजारीको अर्थ सार्वजनिक रूपमा सामान नपाउनु, तर लुकिछिपी महँगो भाउमा चाहिँ सामान पाउनु मात्र होइन । कालोबजारी मौलाउनुको अर्थ राज्यसंयन्त्र कानुनको शासन स्थापना गर्न सक्षम छैन भन्ने हो । बजारमा पेट्रोल र ग्यास छैन, तर चार सय रूपैयाँ    तिरेपछि जति पनि पेट्रोल पाइन्छ । ग्यास नपाएर दाउरा बेचिरहेको अवस्था छ, तर चार हजारदेखि माथि पैसा तिर्न सक्नेहरूका लागि ग्यास सहजै पाइन्छ । डिजेल–पेट्रोलकै नाममा सामानहरूको भाउ बढिरहेको छ । तर, सडकमा गाडीहरूको जाम छ । कालोबजारीको अर्थ स्थिति राज्यको नियन्त्रणबाहिर छ भन्ने हो । यदि राज्यको नियन्त्रणमा परिस्थिति हुँदो हो त यसप्रकारको अवस्था सिर्जना हुने थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार