पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्वर्गीय सुशील कोइरालाको पार्थिव शरीर राजकीय सम्मानकासाथ दागबत्ती दिइएको छ । सदाका लागि कोईराला यो धर्तीबाट बिदा लिएर गएका छन् ।
राजनीतिमा अडान लिन सक्ने राष्ट्र र राष्ट्रियता प्रति सँधै चिन्ता गर्ने सुशील कोईराला पार्टीको १३ औं महाधिवेशनको संघारमा संसारबाट बिदा लिएर गएका छन् । विभिन्न गुट र उपगुटबाट चलेको नेपालको राजनीति र त्यसभित्र देखिएका भिन्न भिन्न समस्याहरु समाधान गर्नका लागि अवका पुस्ताहरुले कोईरालाको राजनीति भित्रका महत्वपुर्ण कुराहरुलाई अनुसरण गर्दै बाँकी कामहरु पुरा गर्न अगाडी बढ्नुपर्ने देखिएको छ । देशका झण्डै तीन करोड नेपाली जनताको मुहारमा हाँसो भर्ने वा देशको नक्सा बदल्ने कार्यमा सुशीलको योगदान छ भन्ने कुरालाई सबैले सम्झनुपर्ने देखिन्छ ।
मुलुकको कार्यकारी प्रमुख भएकै बेला सैद्धान्तिक दस्तावेज देशको मूल कानुन संविधानको निर्माणमा उनको सादगी जीवन र धैर्यताले अतुलनीय भूमिका खेलेको कुरालाई अवका अन्य नेता र नेतृत्वहरुले राम्रो ख्याल गर्नुपर्ने देखिन्छ । सादगी सार्वजनिक छविका अतिरिक्त उनले सिकाएको धैर्यताको पाठ राजनीतिक क्षेत्रमा सबैलाई अनुकरणीय आर्दश हुनसक्छ । पदीय लाभको सम्मानित अवसरलाई कोईरालाले दुरुपयोग नगरेपनि आफ्ना निकटका व्यक्तिलाई राज्य शक्तिका स्रोतमा सहज पहुँच उपलब्ध गराउने आफ्ना पूर्वजहरुको नजिरलाई यिनले सजिलै पन्छाइदिएका थिए । त्यो परम्परागत मान्यतालाई पन्छाउने अदम्य शाहसमा उनको दृढ र शंकालु स्वभाव जिम्मेवार मानिएपनि देशका साझा श्रोतलाई निहित ब्यत्तिको हालिमुहालीबाट रक्षा गर्ने लगायतका बिभिन्न महत्वपुर्ण कामहरुलाई देशका सबैखाले तह तप्का र बिशेष गरेर नेताहरुले सम्झनुपर्ने देखिन्छ ।








