राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यतिवेला १३ औँ महाधिवेशनमा होमिएको छ ।
पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइराला लाई असामयिक रुपमा गुमाउनु पर्दा नेपाली काँग्रेस लागि यो महाधिवेशन शोकलाई शक्तिमा रुपान्तरित गर्ने महाधिवेशन बन्न पुगेको छ । पार्टीको आन्तरिक जीवन लाई पुनर्ताजगी गर्ने ठानिएको यो महाधिवेशनले अनुमोदन गर्ने नीति र नेतृत्व कस्तो होला भन्ने विषयले आम नेपाली समुदायको ध्यान खिचिरहेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उसका आदर्श र सिद्धान्त हुन् । नीति र नेतृत्वभन्दा जनता सार्वभौम हुनुपर्छ अनि मात्र सही मानेमा प्रजातन्त्र हुन्छ भन्ने नेपाली कांग्रसले पाँच दशकभन्दा बढी समय संवैधानिक राजतन्त्रको पक्षमा आफूलाई उभ्यायो ।
संवैधानिक राजतन्त्रबाट प्रजातन्त्र का नाममा अनेकन उतार चढाव देखेको र भोगेको काँग्रेसले अन्ततः आफूलाई गणतन्त्रको पक्षमा आफूलाई उभ्यायो । खासगरी विसं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि नेपाली कांग्रेस र राजतन्त्रको सम्बन्ध टुट्यो । प्रजातान्त्रिक आन्दोलनको प्रमुख शक्तिका रुपमा आफूलाई उभ्याउँदै आएको नेपाली कांग्रेसले आधुनिक नयाँ नेपालको निर्माण गणतन्त्रबाट मात्र हुन्छ भन्नु नयाँ राजनीतिक परिघटना थियो ।
परिपक्व, खारिएका र जनतामा भिजेका नेताहरु समेत चुनावी प्रतिश्पर्धामा पाखा लाग्न सक्ने खतरालाई काँग्रेसका नेताहरुले कसरी सम्बोधन गर्दै अधिवेशन सम्पन्न गर्नै हुन त्यो भने हेर्न बाँकी नै छ ।








