नेपाल अविकसित मुलुक भनेर बिगत धेरै बर्षदेखि अन्तराष्ट्रिय दाताहरुको माझमा परिचित छ किनकी यहाँका नागरिकहरु त गरिव छन् नै नेता र नेतृत्व गर्नेहरुको शैली पनि गरिव नै छ । यही कुराले होला अहिलेसम्म नेपालको गरिवी उन्मुलनका लागि अरावौं रकम शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा खर्च गरिएको छ तर त्यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन् ।
हामी केही गर्न सक्दैनौ भन्ने मानसिकताले जरा गाडिसकेको हाम्रो मुलुक र समाजमा नेपाल र नेपालीहरुको प्रगतिका लागि राम्रो सपना देख्नेलाई हावादारी गफ भनेर उडाउने प्रवृतिले समेत केही गर्न जाँगर गरेकाहरुलाई समस्यामा पार्दै गरेको छ ।
नेपालको राजनीतिमा देखिएको गरिवी पनले समेत नेपालको आर्थिक र भौतीक पुर्वाधार बिकासमा निकै ठूलो समस्या उत्पन्न गरेको छ । धेरै लामो संघर्ष पछि नेपालमा भएको परिवर्तन संस्थागत गर्नका लागि यहाँका साना ठूला सवै राजनीतिक दलहरुले केही बर्ष मिलेर काम गर्नुपर्ने आवश्यकता हो । किनकी देशको मुहार परिवर्तन गर्ने खालका निर्णयहरु सँगै संविधाना कार्यान्वयनका लागि खेल्नुपर्ने भूमिकालाई समेत अहिलेका दलहरु मिलेर सामना गर्नुको साटो आपसमा झगडा गरेर केही समयका लागि हात पर्ने सत्ता प्राप्ति र कसैको प्रयोगका लागि गरिने राजनीतिले नेपालमा अहिलेपनि स्थायी शान्ति प्रदान गर्नेमा शंका उपशंकाहरु पैदा गरेको छ ।
पछिल्लो परिवर्तीत राजनीतिक अवस्थालाई मध्यनजर गर्ने हो भने पनि सहमतीको कुरा औपचारिकताका लागि मात्रै भएको देखियो यसले नेपालमा जारी गरिएको संविधानमा कार्यान्वयनमा पक्कै समस्या हुने देखिन्छ ।








