फरक विचार र स्वस्थ आलोचना लोकतन्त्रको विशिष्ट सौन्दर्य हो । यो कुरा सवैलाई थाहा छ । बहुदलीय पद्दति र संस्कृतिको शीरोधार्य गरिसकेपछि स्वाभाविक रुपमा भिन्न–भिन्न विचार, फरक–फरक दल र अलग–अलग मान्यताबाट परिचालित हुनुलाई अस्वभाविक पनि मान्न मिल्दैन् ।
यही कुरालाई मुख्य बनाएर सत्ता प्राप्ति होस वा अन्य आफ्नो व्यक्तिगत स्वार्थका लागि होस् साझा मुद्दाहरुबाट समेत अहिलेका जिम्मेवार दलहरु अलग हुन मिल्दैन । ती मुद्दा र एजेण्डामा हाम्रो साझा अठोट, एकता र सहकार्यविना हाम्रो राजनीतिक उद्देश्य मात्र हैन नेपालको परिवर्तनमा समेत समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।
विकासलाई ‘बहुजन हिताय को पवित्र मान्यतामा जोड्ने प्रयास गरौं । विकासको साझा मार्गचित्र निर्माण गरौं र त्यसलाई पुरा गर्ने संकल्प र समय निर्धारण गरौं । विकासलाई नेतामा भन्दा नीतिमा आवद्ध गरौं । अनि समृद्ध नेपाल निर्माणको अभिभारा सवैको हो भनेर हातेमालो गरौं यतीमात्र संकल्प गर्न सक्यौ भने एक दशकमा सायद हामी पनि विश्वका धेरै विकासशील मुलुकहरुसँग प्रतिस्पर्धामा आउन सक्नेछौं ।
नेपालमा सँधै बल्झिरहने अर्को समस्या अन्तराष्ट्रिय मामिलामा नेपालले साझा दृष्टिकोण बनाउन नसक्नु हो । अन्तराष्ट्रलाई हेर्ने दृष्टिकोण सबै पार्टीका वीचमा मात्रै नभएर एउटै पार्टीमा समेत भिन्न–भिन्न तरिकाले अभिव्क्त भएको पाइन्छ । यो नेपाली राजनीतिको अर्को दुर्भाग्य हो । नयाँ सरकार बनाउने र ढलाउनेदेखि नेपाली राजनीतिका हरेक मुद्दाहरुमा विदेशी चासो र सक्रियतालाई अहिलेसम्म हाम्रो राजनीतिले संस्थागत गरेको छ । युरोप, अमेरिका, चीन वा भारतसँग जोडेर कसैले चर्चा गरिदिए मख्ख पर्ने दास मनोवृत्ति वर्तमान राजनीतिक नेतृत्वमा जीवित छ । यस्तो कुराको अन्त्य गरेर साझा मुद्धामा नेपाल र नेपालीको हित चाहने हो र सवैलाई समान व्यवहार गर्ने हो भने नेपाल छिट्टै समृद्धिको बाटोमा लाग्ने छ ।








