सरकारले निर्माण गरेका नीति नियमभित्र रहेर जनतालाई आवश्यक पर्ने विभिन्न सेवाहरु प्रदान गर्ने महत्वपुर्ण जिम्मेवारी राष्ट्रसेवक कर्मचारीभित्र पर्दछ । सरकारले कानुन अनुसार उल्लेख गरेका सेवा सुविधाहरु भनेकै समयमा जनताहरुले बिना झन्झट प्राप्त गरुन भन्ने उद्देश्यले खटिएका कर्मचारीहरुले सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार लगायतका कुराहरुको बारेमा पनि विभिन्न कार्यविधिहरु निर्माण गरिएको छ ।
जनताले पाउने सेवा सुविधाहरु छिटो छरितो हुनका लागि नागरिक वडापत्रमै सेवाको जानकारी गराउने अभियान समेत सरकारले थालनी गरेको छ । यसले काममा पारदर्शीता कायम गरेको देखिन्छ । दैलेख लगायतका विभिन्न पहाडी जिल्लाहरुमा कार्यरत प्रमुखहरु मात्र नभै अन्य कर्मचारीहरु समेत जिल्लामा धेरै बस्न नरुचाउने प्रचलन बिगत धेरै बर्षदेखिको हो । पछिल्ला केही बर्षहरुमा नागरिकहरुले निगरानी बढाउने कामको थालनी सँगै जिल्ला प्रशासन कार्यालयले समेत सेवाको प्रभावकारीता र प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको नियमित अनुगमन जस्ता कामहरुमा तीव्रता दिएका कारण कर्मचारीहरुको कार्यालयमा नियमितता बढेको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहिलाई प्रदान गर्नुपर्ने सेवाहरुको बारेमा बेला बेला चर्चा र बहस हुने गरेको छ । जनताका गुनासाहरुलाई निर्मुल पार्दै प्रभावकारी सेवा विस्तारका लागि सवैले आफ्नो कर्तब्य र दायित्व भित्र रहेर काम गर्नु आजको आवश्यकता हो ।








