पोषण मानव सुरक्षाको लागि निकै महत्वपुर्ण बिषय हो । मानव जन्मको प्रक्रिया सुरु भएसँगै उसको बृद्धि बिकासका लागि गर्भवती आमा र पेटभित्रको बच्चालाई पोषिलो कुराको आवश्यकता पर्दछ । सामाजिक परम्परालाई हेर्ने हो भने अहिलेपनि स्वास्थ्यको क्षेत्रमा काम गर्ने कतिपय गाउँस्तरमा रहेका स्वास्थ्यकर्मीहरु र गाउँमा निशुल्क समाज सेवामा खटिने महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई समेत अहिलेसम्म पुर्ण स्तनपान, पोषण खाने कुराको चरण, गाउँमा पाईने विभिन्न पोषणयुक्त बालीहरुमा कुन कुन भिटामिनहरु पाईन्छ भनेर थाहा नभएको अवस्था छ । स्वास्थ्यकर्मीहरुलाई समेत पुर्ण रुपमा पोषणको जानकारी नभएका बेला दुर्गम गाउँमा बसोवास गर्ने नागरिकहरु मात्र हैनन् शहरमा बस्ने अधिकाँसलाई समेत पोषणबारे ठोस जानकारी नभएको अवस्था कायमै छ ।
गाउँघरमा अहिलेपनि सुत्केरी महिला र बालबालिकाहरुको सुरक्षाका लागि सामाजिक मुल्य र मान्यताहरु पनि बाधक बनेका छन् । परम्परागत सोचहरुमा परिवर्तन सँगै रैथाने बालीहरुको उत्पादनमा जोड दिनुपर्ने र उत्पादन गरेका बस्तुहरुको उपभोग गर्नुपर्ने लगायतका विभिन्न कुराहरु गाउँ गाउँ सम्म पुर्याउन चुनौती देखिन्छ । पोषण संवेदनशिलता जस्तो महान अभियानमा लाग्नुपर्ने अवश्यकता सँगै जिल्लामा रहेका विभिन्न सम्बन्धित निकायहरुले गम्भिर छलफल र बहस गर्दे आ आफ्नो दायित्व पुरा गर्नुपर्ने अहिलेको आवश्यकता हो । जिल्लाका जंगलहरुमा खेर गएका भिटामिन जन्य सिस्नो लगायतका बस्तुहरुको उत्पादन सुरु गर्दै उपभोग र बजारीकरण अभियान थाल्नुपर्दछ । कोदो, मकै, जौं, गहुँ लगायतका पोषणयुक्त बालिहरुको पुनः पयोग अभियानको थालनी गर्नुपर्ने देखिन्छ ।








