कर्णालीमा विकास गर्ने हैन विकास खाने हो भन्ने भाष्य बदल्नु पर्छ

  • काँग्रेस र माओवादीको नेतृत्व हेरिसकेका आम नागरिकहरूले अव एमालेको नेतृत्वको आशा गरेका छन् । कर्णाली गरिब छैन, कर्णाली दुर्गम हो पहाडी बस्ती छ स्वाभाविक हो तर पहाडी बस्तीका पात–पातमा लाखौँ डलर खेर गएको छ भन्ने विषय नबुझेका कोही पनि छैनन् ।
  • कर्णाली प्रदेश कान्छो प्रदेश हो । आन्दोलनको जगबाट प्राप्त भएको उपलब्धिलाई विगत ६ वर्षका सरकारले गर्नुपर्ने प्रगति गर्न सकेनन् । अहिले पनि कर्णालीमा रोग, भोग, अशिक्षा र गरिबीमात्र छ भनेर भाष्य निर्माण गरिएको छ । यतीमात्र हैन कर्णालीमा विकास गर्ने हैन विकास खाने हो भन्ने भाष्य निर्माण गरिएको छ । यसको मुख्य दोष अहिलेसम्म सरकार चलाएका र नेतृत्वमा पुगेकाहरूले लिनुपर्ने हुन्छ ।

    सत्तामा बसेका व्यक्तिहरूले आफ्नो पार्टी, पार्टीभित्रपनि गुट, उपगुट, आफन्त, नातागोता मार्फत काम सुरु गर्ने र विकास गर्ने भन्दापनि खाने हो भन्ने मान्यता सरकारको लापरबाहीका कारण भएको हो । अवको कर्णालीमा बन्ने सरकारले विकास गर्ने हो खाने हैन भन्ने भाष्य स्थापित गर्नुपर्ने चुनौती छ । यसकालागि निष्पक्ष, निडर नेतृत्व आजको आवश्यकता हो ।
    काँग्रेस र माओवादीको नेतृत्व हेरिसकेका आम नागरिकहरूले अव एमालेको नेतृत्वको आशा गरेका छन् । कर्णाली गरिब छैन, कर्णाली दुर्गम हो पहाडी बस्ती छ स्वाभाविक हो तर पहाडी बस्तीका पात–पातमा लाखौँ डलर खेर गएको छ भन्ने विषय नबुझेका कोही पनि छैनन् । विगत ६ वर्षदेखि कर्णाली सरकार चलाएकाहरूलाई पनि यो कुरा थाहा छ तर किन ठोस विकासको खाका तयार हुन सकेन, प्रश्न यहाँनेर छ ।

    पहिलो कुरा नेतृत्वको योजना भएपनि काम गर्ने तौर तरिका मिलेन, सुरुमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा एउटा नागरिकका हिसाबले तीन पटक सम्म गएर एउटा प्रस्ताव राखेको थिएँ, कर्णालीमा जल, जमिन र जङ्गल सँगै अथाह जडीबुटी छ । एक वर्षमा एउटा मात्र कामको थालनी गर्न सकेमा त्यसको प्रभाव पाँच वर्षपछि निकै राम्रो हुन्छ ।
    पहिलो कुरा जलस्रोत हो । कर्णाली सरकारले अपनत्व ग्रहण गरेर केन्द्र र स्थानीय सरकार सँग समन्वय गर्ने जनताको लगानी उठाउने हिसाबले एउटा विद्युत् क्षेत्रमा लगानी गर्न सके पाँच वर्षमा ५ सय बढीले रोजगारी पाउने, प्रदेश आम्दानीको प्रभावकारी स्रोत हुने भनेर दिईएका सुझावहरू कार्यान्वयन भएनन् ।

    कर्णालीमा प्रशस्त मात्रामा पाइने जडीबुटीहरू कोही जङ्गलमै झरेर खेर गएका छन्, कोही पहिचान हुन सकेका छैनन् । प्रदेश सरकारले एउटा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने केन्द्र र स्थानीय सरकारको साझेदारीमा काम गर्न सकेको भए कर्णालीका पात(पातमा के कुरा छ भनेर जिनिटिक पत्ता लगाउन सकिने थियो अनि औषधीय गुण भएका बोट बिरुवा र जडीबुटीहरूको प्रवर्द्धन सँगै प्रशोधन गरेर बिक्री गर्न सकेको भए करोडौँ आम्दानी हुने थियो त्यो पनि सुझाव मनन गरिएका छैनन ।

    सरकार परिवर्तन सँगै केही नयाँ कुरा हुन्छ होला भन्ने आशा गरेका आम नागरिकहरू अहिले पनि निराश छन् । विदेशबाट घर फर्केर गाउँमै केही गर्छु भन्नेले अवसर पाउन सकेका छैनन । सरकारमा बसेकाहरुले आफन्तलाई कसरी काम दिने र कसरी दाम लिने भन्नेमा मात्र ध्यान गएको विषयहरू अहिले सतहमै आएका छन् । कृषिमा क्रान्ति ल्याउने भनेर कर्णाली प्रदेश सरकारले ३२ वटा हाईटेक नर्सरी निर्माण गर्ने अभियान ल्यायो यो राम्रै अभियान होला यसले केही मात्रामा कृषि क्षेत्रमा सुधार ल्याउला भनेको त हरेक नर्सरी निर्माणका नाममा गरिएको डिपिआर र अन्य काममा लाखौँ रकम अपचलन गर्ने योजना रहेछ । अहिले ५ वटा भन्दा बढी नर्सरीहरु निर्माण हुन सकेका छैनन् ।

    कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा सबैभन्दा धेरै काम गरेको भनेको डिपिआर निर्माणमा हो तर डिपिआर निर्माण भएपछि सोही अनुसार काम हुन सके वा सकेनन् यो विषय सरकार आफैलाई थाहा छैन । डिपिआर निर्माणमा हुने ६० प्रतिशत जतिको कमिसनको खेल एकाएक बाहिर आएपछि अहिले एकले अर्कोलाई आरोप लगाउने बाहेक अरू काम हुन सकेको अवस्था छैन ।

    अर्गानिक कर्णाली प्रदेश भनेर घोषणा भयो लोकप्रियताका लागि केही समय त चल्यो तर कार्यान्वयन भने सिन्को भाँच्ने काम पनि हुन सकेन । अहिलेकै सरकारले पनि युवाहरूलाई गाउँगाउँमा रोजगारी दिने भनेर अभियान थालनी गर्र्यो तर अभियान नाममा मात्र सीमित भयो । जनता हरूले प्रश्न गर्न थालेका छन् । जनताको पक्षमा विकास गर्छु भन्दा नेतृत्वमा पुगेकाहरूलाई के ले रोक्दो रहेछ ।

    पर्यटन क्षेत्रमा पनि कर्णाली निकै अगाडी छ, यसको उचित व्यवस्थापन हुन सकेको छैन, बर्सेनि हजारौँ मानिसहरू रारा पुग्ने गर्दछन्, रारा सम्मपुग्दा र फर्कँदा बाटोमा पर्ने सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुका अन्य पर्यटकीय गन्तव्यहरूको पनि सँग सँगै प्रचार प्रसार गर्न सकेको भए, उचित होटेल र होमस्टेहरू निर्माण गरेर कर्णाली सरकारले योजनाबद्ध विकास गर्न सकेको भए रारा पुगेर फर्कने पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा कालिकोटको झरना, जुम्लाको चन्दननाथ, तातोपानी, शिरस्थान ज्वाला सहित दैलेखको पञ्चकोशी क्षेत्र, दैलेख सदरमुकामको कोतगडी, पञ्च देवल, गुराँसेको मनोरम दृश्य यस्ता धेरै विषयहरूलाई पर्यटन सँग जोड्ने काम पर्यटन मन्त्रालयले गर्न सकेको छैन । केवल कुल देवताका मन्दिर निर्माण गर्ने र कार्यकर्ता पालन पोषणमा ध्यान दिने प्रचलनले कर्णालीमा ठोस रूपमा पर्यटनको विकास हुन सकेको छैन ।

    से फोक्सुन्डो, कैलाशमानसरोवर जाने सिल्क रोड अहिले हराएको छ । यस्ता विषयमा कर्णाली सरकार गम्भीर हुन सकेको छैन । अहिले भारतीय पर्यटकहरू लुम्बिनीमा निकै धेरै आएका छन्, कैलाशमानसरोवर पुग्नेहरूको पनि त्यस्तै भिड छ । लुम्बिनीमा आएका पर्यटकहरूको रुटमा सुर्खेतको काँक्रेविहार र दैलेखको पादुका मन्दिरसम्म हिन्दु र बौद्ध धर्माव लम्बिहरुको धार्मिक सहिष्णुताको विषय अहिले पनि पादुकामा देख्न सकिन्छ । लुम्बिनी, सुर्खेतको काँक्रेविहार र दैलेखको पादुकामा रहेको साहुना कार्की र कर्केनिको अभिलेख बौद्ध पर्यटकहरूका लागि निकै चासोको विषय हो किन यस्ता विषयहरूको प्रवर्द्धन गर्न सकिएन । अर्कोतर्फ कर्णालीको समग्र इतिहास ७८ थरको जन्मस्थल, नेपाली भाषाको उद्गम थलो यस्ता विषयहरू अहिले पनि चर्चामा आउन सकेका छैनन् ।

    मध्य पहाडी सडक खण्डको दैलेख, जाजरकोट, रुकुम लगायतका खण्डको आसपासमा उत्पादनमा आधारित अभियान अहिलेको आवश्यकता हो यस्ता विषयहरूमा सरकारको ध्यान जान सकेको अवस्था छैन । बेला बेलामा कर्णाली सरकार फेरबदल भएको अवस्था कायमै छ तर मुख्य जिम्मेवारीका रूपमा नेकपा एमालेले मुख्यमन्त्री पाउन सकेको अवस्था छैन । एमालेले मुख्यमन्त्री पाउँदा प्रभावशाली नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् । स्पष्ट बत्ता र कर्णालीमा केही गर्नुपर्छ भन्ने उनको हुटहुटीलाई एमालेकै नेताहरूले अनेकन् गलत कुरा केन्द्रको नेतृत्वलाई लगाएर उनलाई पाखा लगाउने कोसिस हिजो पनि भयो, आज पनि कायमै रहेको छ ।

    सङ्घीयता आयो, सरकार गाउँगाउँमा आयो तर सरकार सँगै बिचौलियापनि गाउँमै आए, कमिसन खानेहरूको समूहपनि गाउँमै आएको छ । जबसम्म हरेक विकासमा पारदर्शी ताको विषयलाई महत्वका साथ अगाडी ल्याउन सकिँदैन तबसम्म कर्णालीको विकास हुन सक्ने देखिएको छैन । केन्द्रमा अहिले जसरी राजनीतिक समीकरण नयाँ बनेको छ सोही अनुसार अहिले पनि कर्णालीको समग्र विकासको नेतृत्वका लागि मुख्यमन्त्रीका रूपमा नेकपा एमालेका नेता यामलाल कँडेल भएको हेर्ने रहर आम कर्णालीका काँग्रेस, एमाले र माओवादीमा रहेको छ । सत्ता समीकरणको नाममा यसपालि पनि कर्णालीमा एमालेलाई अन्याय गरियो भने यसको क्षति ०८४ मा एमाले स्वयंले बेहोर्नुपर्ने अवस्था देखिन्छ ।

    अव कर्णालीमा विकास खाने हैन विकास गर्ने हो भनेर नयाँ भाष्य स्थापनाका लागि पनि नेतृत्व परिवर्तन जरुरी देखिन्छ ।
    आफूले गरेका गल्तीहरू अर्को कोही पारदर्शी व्यक्ति सत्तामा गयो भने त्यसेले सबै कुरा बाहिर ल्याइदिन्छ र आफूहरू कमजोर हुन्छौँ भन्ने मान्यताले अहिले पनि कर्णालीमा निष्पक्ष र गल्ति नभएको व्यक्तिलाई सत्तामा जान दिइएको छैन । अनि कसरी कर्णाली प्रदेशको विकास सम्भव छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार