मर्यादित पत्रकारिताको खाँचो

पत्रकार समाचार वा समाचारजन्य सामग्रीको सङ्कलन, लेखन र सम्पादनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उसले आमसञ्चारका माध्यममार्फत सूचना, समाचार वा समाचारजन्य विषयलाई शब्द, आवाज र तस्बिरका रूपमा आमजनतामा पु¥याइरहेको हुन्छ । यस आधारमा समसामयिक घटनाक्रमको रिपोर्टिङ गरेर र सार्वजनिक चासोका विषय उजागर गरेर जो कोही जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन पत्रकारले समाजमा अहम् भूमिका निर्वाह गर्दछ ।

समाचारीय मूल्यका आधारमा पत्रकारले विभिन्न स्रोतबाट समाचार वा समाचारजन्य सामग्री सङ्कलन गर्ने गर्दछ । यिनमा केही समाचारका स्रोत पूर्वानुमान गरिएका हुन्छन् भने केही स्रोत प्रत्याशित र केही अप्रत्याशित रहेका हुन्छन् । चाडपर्व, उत्सव, आमसभा, प्रदर्शनी, संसद् अधिवेशन, बजेट भाषण आदि समाचारका पूर्वानुमानित स्रोत हुन्, जुन स्रोतलाई सहजै पूर्वानुमान गर्न सकिन्छ । सूचना वा जानकारी प्राप्त गर्ने आशा रहेका प्रहरी प्रशासन, अदालत, पत्रकार सम्मेलनसहित विभिन्न कानुनी÷कृत्रिम व्यक्तिका गतिविधि आदि समाचारका प्रत्याशित स्रोत हुन् । प्राकृतिक विपत्ति, भ्रष्टाचार, दुर्घटना, दङ्गा, अपहरण जस्ता पूर्वनिर्धारित नभएका घटना समाचारका अप्रत्याशित स्रोत मानिन्छन् ।

यी विभिन्न स्रोतबाट प्राप्त समाचारलाई पत्रकारले मूलतः घटनाप्रधान र प्रक्रियाप्रधान समाचारका रूपबाट पस्कने गर्दछ । कुनै घटनाको सोझो विवरण प्रस्तुत गर्ने कार्य घटनाप्रधान (हार्ड न्युज) लेखन हो भने घटनाको प्रक्रियासमेत उल्लेख गरी कलात्मक रूपमा प्रस्तुत गर्ने कार्य प्रक्रियाप्रधान (सफ्ट न्युज) लेखन हो । नेपाली पत्रकारिता जगत्मा भने पछिल्लो समय प्रक्रियाप्रधान समाचार लेखनको तुलनामा घटनाप्रधान समाचार लेखनको क्रम बढ्दो अवस्थामा पाइन्छ ।

घटनाप्रधान समाचार लेखनमा पनि अत्यधिक प्रयोग हुँदै आएको समाचार स्रोत भनेकै ‘औपचारिक कार्यक्रम’ हुन थालेका छन् । यस्ता औपचारिक कार्यक्रममा आयोजकले पत्रकारलाई औपचारिक रूपमै निमन्त्रणापत्र दिएर बोलाउने चलन बढ्दो छ । कुनै कुनै स्थान र अवस्थामा त निमन्त्रणापत्र नपाएको निहुँमा पनि पत्रकार रिसाइरहेका देखिन्छन् ।

निमन्त्रणापत्र दिएर बोलाइएका पत्रकारलाई निश्चय पनि अतिथिको आसन ग्रहण त गराउनै प¥यो । यसैको परिणामस्वरूप कुनै कुनै कार्यक्रममा त पूरै मञ्चभरि पत्रकार मात्रै अतिथि बनेर रहेको पनि देखिन्छ । कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिबाहेक अन्य सबै पत्रकारलाई अतिथि भनेर मञ्चमा आमन्त्रण गर्दा पनि सधैँ जस पाउने अवस्था छैन ।

‘फलानोभन्दा मलाई पो पछि बोलायो’ भन्ने जस्ता अभिव्यक्तिमा पत्रकारभित्रको कथित मर्यादाक्रममा पनि आयोजक निकै चनाखो हुनुपर्ने अवस्था छ । पत्रकार आसन ग्रहण गराउने प्रचलनमा पत्रकारलाई विशेष सम्मानको रूपबाट मायाको चिनो वितरण गरिन्छ । मायाको चिनो ग्रहण गर्ने सवालमा पनि पत्रकारमाझ पुनः कथित मर्यादाक्रमको विषयले प्रवेश पाउँछ । कार्यक्रम समाप्तिपछि पनि पत्रकारलाई ‘जलपान समारोह’ मा सामेल गराउने चलन पनि मौलाएको छ । त्यति मात्र नभई पछिल्लो समयमा त ‘यातायात’ को विषय थपिँदै छ ।

यसरी कार्यक्रमबाट ससम्मान बिदाइ हुने पत्रकारमध्ये एकाधले मात्र समाचार रिपोर्टिङ गर्ने गर्छन् । समाचार सङ्कलन गर्न जाने पत्रकार स्वयम् मञ्चासीन भएपछि पूरै कार्यक्रम स्थलको रिपोर्टिङमा पक्कै पनि समस्या नआउला भन्न सकिन्न । कतिपय अवस्थामा त उद्घोषकको ‘कार्यक्रम तालिका’ हेरेर त्यसैको आधारबाट मात्र समाचार बनिरहेको हुन्छ । यसरी एक जना पत्रकारले तयार गरेको समाचार धेरै सञ्चार माध्यममा हुबहु सम्प्रेषण भइरहेका हुन्छन् । यो चाहिँ अलि फरक तरिकाबाट समाचार आयो भनेर पढ्ने वा सुन्ने हो भने कतै शीर्षकमा फरकपना पाइन्छ त कतै तस्बिर मात्रै ।

नेपाली पत्रकारिताले बेहोर्दै आएको यो परिघटनाबाट यस्तो विषय उठान हुन्छ कि के कुनै पनि कार्यक्रममा पत्रकारलाई यति बढी महत्व दिइनु आवश्यक छ त ? आमसर्वसाधारण र पत्रकारबिचको सम्बन्ध के होला ? पत्रकारप्रतिको यो ‘झुकाव’ रहर हो या बाध्यता ? सामान्य जस्ता लाग्ने यी र यस्तै प्रकारका प्रश्न आज गम्भीर चासोका विषय बन्दै छन् ।

निश्चय पनि पत्रकारले आमसर्वसाधारण मानिसको सूचनाको अधिकारलाई सहजीकरण गरी मूलतः सूचनाको खेती गरिरहेको हुन्छ । नागरिकको सुसूचित हुन पाउने हकको संरक्षण गर्ने सवालमा पत्रकार सधैँ क्रियाशील भइरहन्छ र हुनु पर्छ पनि । सर्वसाधारणको तुलनामा पत्रकारलाई सूचना वा समाचार सङ्कलनका सन्दर्भमा मात्रै केही सहुलियत वा प्राथमिकता दिइएको पाइन्छ । त्यो पनि नागरिक को सुसूचित हुन पाउने हकको रक्षा गर्नका लागि तर पछिल्लो समयमा नेपाली मिडिया जगत्मा सूचना वा समाचार सङ्कलनार्थ प्राप्त सहुलियत वा प्राथमिकताको दुरुपयोगस्वरूप पत्रकारलाई आमसर्वसाधारणभन्दा बिल्कुल भिन्न हो कि झैँ बनाइएको छ ।

यदि पत्रकारलाई सर्वसाधारणभन्दा भिन्न रूपमा सम्मानजनक व्यवहार नगर्ने हो भने भोलि समाचार नै सम्प्रेषण नहोला वा हुँदा पनि अपेक्षा अनुरूपको नहोला कि भन्नेमा कार्यक्रम आयोजक सशङ्कित बन्ने गरेको देखिन्छ । यसका साथै पत्रकारसँगको निकटता बढाउने अपेक्षामा पनि यस्ता कार्य हुने गरेका छन् । पत्रकारको आफ्नो नियमित कर्तव्य नै सूचना सङ्कलन एवं सम्प्रेषण रहेको सन्दर्भमा ‘विशेष अतिथि’ भन्दै मञ्चमा राखेर खादा लगाइदिने, मायाको चिनो प्रदान गर्ने वा जलपान र ‘यातायात’ को विषय जोड्ने जस्ता कार्यले अन्ततः विकृति बढ्छ । स्वच्छ एवं निष्पक्ष पत्रकारितामाथि नै प्रश्नचिह्न खडा हुन्छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले सन् १९५४ (संशोधन १९८६) मा सम्पन्न विश्व सम्मेलन बाट जारी गरेको नौ बुँदे घोषणापत्रको चौथो बुँदामा भनिएको छ, “पत्रकारले समाचार, तस्बिर र कागजात प्राप्त गर्न स्वच्छ तरिका मात्र अपनाउनु पर्दछ ।” यहाँ स्वच्छताले कुनै स्वार्थबिना नै पत्रकारिताको पेसागत स्वच्छतामा तल्लीन रहनु भन्ने अर्थ प्रकट गर्दछ । पत्रकार आचारसंहिताका सन्दर्भमा व्यावसायिक पत्रकार समाज (एसपिजे) ले सन् २०१४ मा परिमार्जनसहित चार वटा सिद्धान्तलाई नैतिक पत्रकारिताको आधारका रूपमा घोषणा गरेको छ । उसले पत्रकारका मुख्य कर्तव्यमा सत्य खोज्ने र सम्प्रेषण गर्ने, हानिलाई घटाउने, स्वतन्त्र रूपमा काम गर्ने र उत्तरदायी बन्ने भनेर बृहत् रूपबाट समेटेको छ ।

एसपिजेले पारित गरेको पत्रकारका मुख्य चार वटा कर्तव्य अन्तर्गत तेस्रो बुँदाको दोस्रो वाक्यमा भनिएको छ, “पत्रकारले उपहार, सहयोग, शुल्क, निःशुल्क यात्रा र विशेष किसिमको व्यवहारलाई अस्वीकार गर्नु पर्दछ । पत्रकारिताको विश्वसनीयतामा धुमिल पार्ने राजनीतिक र अन्य बाह्य गतिविधि पनि त्याग्नु पर्दछ ।” यसले स्वच्छ एवं स्वतन्त्र पत्रकारिताको पेसागत मर्यादालाई ख्याल गरी पत्रकारले कहीँकतैबाट पनि उपहार, शुल्क, सहयोग वा विशेष किसिमको व्यवहारलाई स्वीकार गर्नु हुँदैन भनेको छ ।

कुनै पनि पत्रकारलाई औैपचारिक कार्यक्रममा बोलाएर अतिथिको आसन गराउँदै सम्मान गर्नुले उसलाई प्रत्यक्ष वा परोक्ष रूपबाट प्रभावमा पारेको ठहर्छ । नेपाली सञ्चारमाध्यम र पत्रकारका लागि जारी भएको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ९ मा स्पष्टसँग भनिएको छ– १. पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि सामग्री सङ्कलन वा सम्प्रेषण गर्दा अनुचित प्रभाव पार्न खोज्ने विज्ञापनदाता, प्रायोजक, समाचार स्रोत, व्यक्ति वा समूह कसैको पनि प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नु हुँदैन । २. पत्रकार र सञ्चार माध्यमले समाचार स्रोतसँग पेसागत मर्यादाविपरीत सम्बन्ध राख्न एवं व्यक्ति वा संस्थाको निहित स्वार्थपूर्तिका लागि सञ्चार माध्यमको दुरुपयोग गर्नु हुँदैन ।

दफा ९ मा उल्लिखित माथिका दुवै बुँदाले पत्रकार मात्र नभई सञ्चार माध्यमले पनि कसैको प्रत्यक्ष वा परोक्ष दबाब वा प्रलोभनमा पर्नु हुँदैन भन्ने कुरा स्पष्ट पारेको छ । यसै गरी उपहार तथा पुरस्कार ग्रहणको सन्दर्भमा पनि आचारसंहिताको दफा १२ मा भनिएको छ– १. पत्रकार तथा सञ्चार माध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, सङ्घ संस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनु हुँदैन । २. पत्रकार तथा सञ्चार माध्यमले पेसागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नु हुँदैन ।

आचारसंहिताले यसो भनिरहँदा पत्रकारको व्यावसायिक धर्मलाई नै प्रभाव पार्ने गरी कार्य गर्नु हुँदैन । त्यसो त पत्रकारले विशेष परिस्थितिमा औपचारिक कार्यक्रमको मञ्चमै रहनुपर्ने अवस्था पनि आउँछ । पत्रकार स्वयम्ले कुनै खास विषयमा गहिरो अनुसन्धान गरी प्रतिवेदन तयार पार्दा र अरूलाई प्रशिक्षित गर्ने गरी गहन मन्तव्य दिँदा मञ्चासीन हुनु स्वाभाविक हो । यस्तै पत्रकारितासम्बद्ध कार्यक्रममा पत्रकारका स्वअनुभव, विशेषज्ञता र विचारहरू साझा गर्ने सबालमा पनि मञ्च उपयोगी हुन्छ ।

साभार गोरखापत्र

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार