नेपालमा बेला बेलामा हुने महाविपत्तिका कारण सयौँले ज्यान गुमाउनु परेको छ भने करोडौँको धन माल क्षति भएको छ । दुई दिनअघि मात्र आएको अविरल बर्सात सँगैको बाढीले देशभर ठूलो बितण्डा मच्चाएको छ । विशेष गरी काठमाडौँ लगायतका पूर्वी क्षेत्रमा निकै ठूलो क्षति भएको छ । देशभरका धेरै सडकहरू अवरुद्ध छन् । सयौँ मानिसहरूले ज्यान गुमाई सकेका छन् ।
गन्तव्यमा पुग्न हिँडेका सवारी साधनहरु पहिरोमा परेर पुरिएका छन् । पहिरोमा पुरिएर मात्रै दर्जनौँले ज्यान गुमाउनु परेको छ । जल तथा मौसम विज्ञान विभागले निकै जोखिमको अवस्था आउन सक्छ भनेर भनिरहेको भए पनि सोही अनुसारको सुरक्षा सतर्कता नअपनाउनु लापरबाही नै देखिएको छ । विशेष गरेर ठूलो बर्सात हुन्छ भने पनि यातायातका साधानहरु आवागमनमा मात्र रोक लगाएको भए एक सयभन्दा बढीको ज्यान जोगिन सक्ने थियो भनेर अहिले सहजै आंकलन गर्न सकिन्छ । सरकार र सम्बन्धित निकायहरूले बेलैमा गरेको उद्धार कार्यले हजारौँको ज्यान जोगिन सफल भएको छ । विपद् सबैलाई एकै पटक आउने गरी जसरी काठमाडौँमा लगातार डुबान भयो सबै क्षेत्रमा लगातार वर्षा भएका कारण उद्धारका लागि पनि सरकारलाई निकै धेरै चुनौती खडा हुँदा हुँदै पनि सुरक्षित भएरै कतिपय उद्धारका कामहरू गरिएका छन् । कतिपय साहसिक व्यक्तिहरूले ज्यान जोखिममा राखेर गरेका उद्धारहरू निकै प्रशंसा गर्न लायक देखिएका छन् । पीडितलाई उद्धार गर्दा गर्दै सुरक्षाकर्मीहरूले आफ्नै ज्यान समेत गुमाएको अवस्था पनि देखिएको छ ।
काठमाडौँलगायतका पहाडी क्षेत्रहरूमा जसरी बाढी पहिरोको उच्च जोखिम देखियो यसको एउटा असरको रूपमा जथाभावी रूपमा खनिएका सडकहरू हुन् भन्ने कुरालाई सहजै अनुमान लगाउन सकिने अवस्था देखिन्छ । अर्कोतर्फ काठमाडौँमा जसरी डुबान भयो कि, करिब ३८ वर्ष अघि मात्रै यस्तो विपत्ति आएको जानकारहरूले बताउँदै गर्दा खोला आसपासका क्षेत्रमा जसरी खोला ओगटेर बस्ती निर्माण गरिएको थियो त्यसको मारमा धेरै नागरिकहरू परेका छन् । यो अवस्था अन्य जिल्लाका खोला किनारका बस्तीहरूमा पनि उत्तिकै समस्या देखिएको छ भने कतिपय भिरालो जमिनमुनि घर बस्ती भएका स्थानहरू पहिरोको जोखिममा परेका छन् ।
अव सरकारले बस्ती विस्तारका लागि दीर्घकालीन योजनासहितको रणनीति लागू गर्नुपर्ने देखिन्छ । यस अघि सडक विस्तार गर्दा जुन लापरबही भएको थियो त्यो अब दोहोरिनुहुन्न । आगामी दिनहरूमा दीर्घकालीन, अल्पकालीन र मध्यकालीन चुनौतीहरूलाई ख्याल गर्दै काम गर्नुपर्ने देखिन्छ । मानव जीवनले जसरी आफूलाई आवश्यक पर्ने सुख सुविधाहरूको उपभोग गर्न प्रकृतिमाथि धावा बोलिरहेको छ सोहीअनुसार प्रकृतिले पनि आफ्नो धार परिवर्तन गर्ने अवस्था सृजना भएका कारण ठूला ठूला विपत्तिहरू आउन थालेको देखिन्छ । हरेक क्षेत्रमा दिगो विकासका लक्ष्य अनुसारका दीर्घकालीन विकासका सोचहरू विस्तार गर्दै विकास निर्माणमा देखिएका बेथितिहरूलाई रोक्नुपर्ने देखिन्छ ।
तीनै तहका सरकारले सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पूर्व तयारी अनिवार्य देखिएको छ । स्थान र भूगोलको अवस्था विश्लेषण गरेर बस्ती विस्तारको अभियानलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । अनावश्यक सडक निर्माणको कार्य तत्कालै पूर्ण रूपमा बन्द गरेर आवश्यकताका आधारमा मात्र प्रभावकारी सडक निर्माणलाई ध्यानदिन नसके अझैँ आगामी दिनहरू थप चुनौती पूर्ण बन्दै जाने देखिन्छ ।








