देशका ठुला आयोजनाहरूको निर्माण कार्यले मात्र तीव्रता पाएको भए देशको आर्थिक अवस्था सुधारको मुख्य पाटो बन्ने सम्भावना थियो । नेपालमा भित्री रूपमा देखिएको राजनीति खिचातानी र विभिन्न शक्ति राष्ट्रहरूको आआफ्नो भित्री प्रतिश्प्रर्धाले पनि नेपालमा परिणाममुखी विकास हुन सकेको अवस्था छैन । नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने ठुला विद्युत् आयोजनाहरू निर्माण हुन नसक्नु, अन्य ठुला कामहरू पनि प्रभावकारी रूपमा अगाडी बढ्न नसक्नु दुःखको कुरा हो । नेपालमा हजारौँ मेगावाट विधुत उत्पादन गर्न सकिने परियोजनाहरू अहिलेसम्म निर्माण हुन किन सकेनन् भनेर अध्ययन गर्ने हो भने पनि कहीँ न कहीँ कसैको भित्री इच्छाले कामगर्न नसकिएको स्पष्टै देखिन्छ ।
दुई वटा ठुला शक्ति राष्ट्रहरूको बिचमा रहेको नेपालको आर्थिक अवस्था सुधार भएकुनै देशलाई आफ्नो सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विषय र कुनै देशलाई नेपाल धनी नभएर गरिब मुलुकको हालतमा रहेको खण्डमा हुने विभिन्न फाइदाहरूको विश्लेषण फरक फरक तरिकाले गरिएका कारण नेपालको समृद्धिमा कताहो कता समस्याहरू देखिएका छन् ।
नेपालले वार्षिक अरबौँ रुपैयाँको काठ विदेशबाट निर्यात गर्ने गर्दछ तर नेपालमाभएका सयौँ वर्ष सम्मचल्ने सालका काठहरू हरेक वर्ष आगलागीभएर नष्ट हुने गर्दछन् । कतिपय काठहरू अहिले पनि जङ्गलमै सडेको अवस्थाकायमै रहेको छ । जङ्गलमा सडे गलेका काठहरूको मात्र प्रभावकारी परिचालनगर्न सकेको भए नेपालको ठुलो धनराशि विदेश जान बाट जोगिने थियो तर कानुन यस्तो बनाइयो कि जसका कारण बर्सेनि अरबौँ रकम काठ खरिदमा विदेश जाने गरेको छ ।
अर्कोतर्फ नेपालमा गुणस्तरीय शिक्षाअथवा पढ्दै कमाउँदैको शिक्षानभएकै कारण आर्थिक अवस्था सुधार गर्ने र अध्ययन गर्ने मनसाय बोकेर बर्सेनि अरबौँ रकम विदेश अध्ययन कानाममा नेपालबाट बाहिरिएको अवस्था छ । त्यस्ता जनशक्तिहरू विदेश गएर फर्किएको अवस्थाभने निकै न्यून छ । जुन व्यक्ति विदेश अध्ययनका लागिगएका छन् ती व्यक्तिहरूले आफू मात्र हैन आफ्नो परिवार समेत विदेशमै सेटल गरेका घटनाहरू धेरै छन् ।
नेपालमा भएका विभिन्न खनिज पदार्थहरू उत्खनन र प्रशोधनका विषयहरूमा पनि निर्माण गरिएका कानुनहरूले निकै ठुलो समस्या उत्पन्न गरेका छन् । शक्ति राष्ट्रहरूले गरेका कामको भारी मात्रै नेपालले बोक्ने अवस्था किन आयो । जलवायु परिवर्तनको असर नेपालमा पर्ने तर नेपालले सधैँ जलवायु परिवर्तनबाट जोगिनका लागि जल, जमिन र जङ्गल जोगाइदिनु पर्ने यस्तो खाले कानुनहरूलाई तत्कालै संशोधन गरेर नेपालमा रोजगारीकाअवसरहरू सृजनागर्ने ठुला र महत्त्वपूर्ण कामहरू सञ्चालनगर्नुपर्ने अहिलेको आवश्यकता देखिएको छ ।
नेपालको जलविद्युत क्षेत्रमा ज जसले कामको जिम्मेवारी लिएका छन् त्यस्ता कम्पनीहरूले अहिले सम्म काम गर्न नसक्नुका पछाडि के रहस्य छ भन्ने कुरा नेपालका सत्तामा पुगिरहेका दलहरूलाई थाहा छ तर त्यस्ता विषयहरूमा एकमत जाहेर गर्न नसक्नु पनि विडम्बनाको कुरा हो । गाउँ बस्तीहरू दिन प्रति दिन बाँझै हुनुपर्ने अवस्था, कृषिमा आमूल परिवर्तन गर्न सुरु गरिएकाअभियानहरूले पूर्णता पाउन नसक्नु, निःशुल्क शिक्षा र स्वास्थ्यको विषय प्रभावकारी हुन नसक्नुले नेपालको समग्र आर्थिक अवस्था सुधारमा चुनौती देखिएको छ । सुधार कहिले हुन्छ भन्दा पनि सुधार कुनै पनि कुरामा हुँदैन भनेर भाष्य खडा गर्ने गिरोहको चलखेल जस्ता कुराहरूको गहिरो अध्ययन गरेर क्रमागत रूपमा पाँच वर्षसम्म के गर्ने भन्ने स्पष्ट रोडम्याप नेपालका राजनीतिकदलहरूले नल्याएसम्म नेपालको अवस्था सुधार हुन सक्ने देखिँदैन यो जिम्मा स्थायी र अस्थायी सरकार दुवैले लिनुपर्दछ ।







