कर्णाली भौगोलिक हिसाबले यसै पनिदुर्गम प्रदेश हो । यहाँका १० जिल्ला मध्ये अधिकांश जिल्ला भन्दा बाहिरका पालिका सदरमुकामहरूमा अहिले पनि धेरै कुराहरूको अभाव र असहजताछ । अर्कोतर्फ कर्णाली प्रदेशका साबिक कर्णालीका कतिपय जिल्लाहरूमा अहिले पनि समस्या उस्तै छन् । अहिले पनि मुस्किलले सदरमुकाम सम्म सवारी साधनहरु पुगेका छन् । यस्ता जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत जीवनको सबैभन्दा महत्वपूर्ण मानिएको खानेपानीको उपलब्धता जस्ता विषयहरूको सहजता अझैँ पनिहुन सकेको छैन ।
हुन त राज्यले कर्णालीलाई विशेष प्रदेशको रूपमा हेरेको छ तर पनि जसरी यहाँका दुर्गम वस्तीहरूमा आवश्यक स्रोत साधनहरूको सही रूपमा सदुपयोग हुनुपर्ने थियो त्यो अनुसार अझैँ पनिहुन सकेको छैन । कर्णालीमा विकासको मोडल परिवर्तन गर्नुपर्ने आभास सहित मुख्यमन्त्री समेतले अहिले जिल्ला जिल्लामा दौडाहा अभियानको थालनी गर्नुभएको छ । यो अभियानले सार्थकता पाओस् भन्ने शुभकामना । अभियानकुनै पनि नराम्रा हुँदैनन् तर राज्यको नीति, नियमनकारी निकायको समस्या, कामको जिम्मेवारी लिएका व्यक्तिहरूको स्रोत साधनको पहुँच लगायतका विषयहरूले कर्णालीका सानादेखि मझौला र ठूला आयोजनाहरू कता हो कता कुहिरोको काग झैँ हराइरहेको अवस्था देखिन्छ ।
कतिपय योजनाहरूमा स्थानीय बासिन्दाहरूकै बेमेल हुनु, कतिपय योजनाहरूमा पार्टीगत मनमुटाउ बढ्नु र कतिपय योजनाहरूमानिर्माण कम्पनीले स्वयं लापरबाही गर्नुले पनि दिगो विकास र भनेको समयमै विकास हुन सकेको देखिदैंन । यस्ता सबै खाले समस्याहरूलाई मध्यनजर गरेर कर्णाली प्रदेश सरकारले आगामी दिनहरूमा विनियोजन गर्ने बजेटहरूलाई अझैँ प्रभावकारी बनाउँदै लैजानु पर्ने देखिएको छ ।
कर्णाली प्रदेशकाअधिकांश सदरमुकामहरू र पालिका सदरमुकामहरूमा खानेपानीको समस्या दिन प्रति दिन बढ्दै गएको छ । आसपासका मुहानहरू सुक्ने अवस्थामा छन् भने कतिपय मुहानहरू अनियन्त्रित रूपमा खनिएका सडकका कारण भासिएर मुहान नै हराएकाछन् । परम्परादेखि प्रयोग गर्दै आएका मुहानहरू एकाएक हराउनु र सुक्नुले पनि आगामी केहीवर्षमा हरेक स्थानहरूमा खानेपानीको संकट झनै बढ्न सक्ने अवस्था देखिएको छ । यस्तो अवस्थामा मुहानको व्यवस्थापन मात्र हैन खानेपानीको दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
विकासका हरेक विषयहरूलाई पहिलो प्राथमिकताका रूपमा दुर्गम र अति आवश्यक भएका स्थानहरूका जनताहरूको प्रत्यक्ष सहकार्य र समन्वयमा गर्न सकेको खण्डमा त्यो विकास दिगो हुने र त्यहाँका उपभोक्ताहरुका लागि सरकारले राम्रो काम गरिदियो भन्ने भान हुन्छ तर कतिपय यस्ता विकासहरू पनि कर्णालीमा गरिएका छन् । जुन विकासका मोडलहरू कुनै न कुनै बहानामा लाभवाहानीको हिसाब हेरिएको छ । नीति निर्माण गर्ने र निर्णायक तहमा रहेकाहरूलाई केही फाइदा हुने भयो भने त्यहाँ आवश्यकता होस नहोस् कुनै मतलब नगरिकन लाखौँ रकम विनियोजन गरिएको छ । त्यस्तो विकास संरचनाहरू एक दुई वर्षमानै भताभुङ्ग भएको पनि देखिएको छ ।
स्थानीय जनतालाई पहिलो प्राथमिकता के छ भनेर स्थानीय सरकारहरूले पठाएका योजनाहरूको प्राथमिकीकरण गरेर सोही अनुसारका ठोस योजनाहरू ल्याउनुपर्ने देखिएको छ । ल्याएका योजनाहरूमा पनि विशेष गरेर कर्णालीका दुर्गम क्षेत्रहरू कहाँकहाँ छन् ।त्यहाँको वास्तविक समस्या के छन् ? यस्ता विषयहरूको अध्ययन गरेर विकास गर्नुपर्नेमा मन्त्री भयो कि आफ्नो क्षेत्रमाआवश्यकता भन्दा बढी बजेट खन्याउने प्रचलन छ । यस्ता प्रचलनको अन्त्य गरेर विकासलाई दुर्गम क्षेत्र र अति आवश्यक पर्ने क्षेत्रको रूपमा विनियोजन गर्नुपर्ने देखिन्छ ।








