असारको महिना कृषकहरुलाई खेतवारीमै हतार देखिएको छ । धान रोप्न व्यस्त कृषकहरुको यो समयमा कतिपय कृषकहरु उपभोक्ता समितिमा बसेर काम गर्न थालेपछि अहिले खेतमा भन्दा जिल्ला सदरमुकाम दैलेखमा ब्यस्त रहेका छन् । ठूला देखि साना सबै होटलहरुमा फुर्सद देखिदैन् । मापसे र सेकुवा यतीवेला त्यती ठूलो कुरो नमानेर हरेक योजनाहरुका कागजात मिलाउन निकै हतार देखिएको छ । अधिकाँस उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुलाई ।
काम सम्पन्न नभएका योजनाहरुका उपभोक्ता समितिका पदाधिकारीहरु र काम सम्पन्न गरेका उपभोक्ताहरु समेत सदरमुकाममै देखिएका छन् ।
रातो कितावमा डोर हाजिरी, सार्वजनिक परिक्षण र अन्य प्रक्रियाहरु मिलाउन थाहा नभएका उपभोक्ता समितिका पदाधिकारीहरु जान्ने मान्छेको पछाडी लागेका छन् । कतिपय दलका प्रमुखहरुकै निगरानीभित्र यस्ता कामहरु भएका छन् भने कतिपय ओभरसियरहरुको योजनाअनुसार यस्ता कामहरु धमाधाम भैरहेका छन् ।
दुःख गरेर काम सम्पन्न गरेका उपभोक्ताहरुका लागि प्रक्रिया मिलाईदिनु सहयोग हुन्छ होला तर काम सम्पन्न नगरेरै जिल्लामा प्रक्रिया पुरा गर्न आएकाहरुको लागि कसले निगरानी गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
आज अन्तिम दिन भएकोले पनि सवैलाई हतार देखिएको छ । ठूला देखि साना सरकारी कार्यालयहरुले समेत अहिले विभिन्न क्रियाकलापहरु सम्पन्न गरेका भ्याट बिलहरु विभिन्न व्यापारीहरुसँग माग्न भ्याई नभ्याई देखिएको छ । यातायात संचालन देखि अन्य विभिन्न शिर्षकहरुमा खर्च नभएका रकमहरु धमाधम भ्याट बिल मार्फत सम्पन्न हुन थालेका छन् । गाउँका उपभोक्ताहरुको मात्रै चासो र चिन्ता गर्ने तर सदरमुकामै हुने लाखौंको अनियमितताको बारेमा कसले आवाज उठाउने हो जिम्मेवार निकायहरु सवै चुप बसेपछि कसको के लाग्छ र ?








