समाजका विभिन्न समुदायहरु रहेका हुन्छन् । हरेक समुदायहरुलाई आ आफ्ना समस्याहरु अनिवार्य रुपमा भएका हुन्छन् । तर विगत १४ बर्षदेखि दैलेख सदरमुकामको प्रति बाँझो जमिनमा घर टहरा बनाएर जीवन गुजारा गर्दै आएका बादी समुदायको लागि अहिलेसम्म कुनै स्थायी बासस्थानको खोजी गर्ने काम भएको छैन् ।
बिगतमा १० परिवार मात्र आएको यो समुदाय अहिले बढेर ४२ घर परिवार सम्म पुगेको छ । भिरालो जमिन र माटोको सहत कमजोर भएका कारण सानो पहिरोले मानवीय क्षती भएको छ । क्षतीको समस्या अँझै बढ्ने संभावना भएपछि र लगातार बर्षात भैरहेका कारण सिंगो समुदाय अहिले बिस्थापित भएर बस्नुपरेको छ । पहिरोको डरले विस्थापीत भएका बादी समुदायहरु अहिले मात्र हैन पहिल्यै देखि चिसो जमिनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ । जिल्लामा भिन्न भिन्न खाले गैर सरकारी संस्थाहरुको उपस्थिती देखिएको छ । एक दर्जन बढी संघ संस्थाहरु त अधिकारका लागि मात्रै काम गर्ने भन्दै बर्षमा करोडौं रकम खर्च गरेको देखाउँछन् ।
१४ बर्षदेखि पिडामा बसिरहेको यो बस्तिको स्थायी बासस्थानको बारेमा अहिलेसम्म कसैले पनि आवाज उठाउन सकेका छैनन् ।
दिनहुँ मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएको बादी समुदाय अहिले समस्यामा परेको छ । अव उनीहरुलाई स्थायी रुपमा सुरक्षीत बासस्थानको आवश्यकता देखिएको छ । अर्कोतर्फ गाउँमा घर र अन्य विभिन्न पुर्वाधार भएर समेत सदरमुकाम आएका समुदायहरुको खोजी गरि बास्तवीक पीडित समुदायलाई तत्काल स्थायी रुपमा बसोवासको व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिन्छ ।








