नेपालको संसदमा आएर नेपालप्रती सद्भाव देखाउने नाटक रच्दै भाषण गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै सरकारले नेपालीहरुको चुल्हो बाल्ने काममा रोकावट गरेको छ । तराईमा समस्या छ भन्दै पेट्रोलियम पदार्थ लगायत तेस्रो मुलुकबाट आएका कच्चा पदार्थहरु रोक्ने तर भारतमा उत्पादन भएका आलु, काउली, मुला, बन्दा र प्याज जो कुहिने अवस्थामा छन् त्यस्ता बस्तुहरु सयौं गाडी नेपालमा सहजै भित्रन दिने यस्तो आन्दोलनले स्पष्ट देखाएको छ कि नेपालप्रति भारतले गरेको अमानबीय व्यवहार केवल दादागिरी मात्र हो ।
आफुले भनेको नभएको भन्दै छिमेकी मुलुक भारतले गरेको व्यवहारबाट आम नेपालीहरु झन सशक्त बन्न थालेका छन् । अव अर्काको भरमा बाँच्नु हुँदो रहेनछ । आफ्नै स्थानीय स्रोत र साधनहरुको अधिकतम उपयोग गर्नुपर्दोरहेछ भन्दै नेपाल सरकार पनि सचेत भएको छ ।
बिगतमा राज्य संचालन गर्ने केही व्यक्तिहरुले नेपालको जल सम्पदा र खानीलाई आफ्नो सत्ता चढ्ने भ¥याँङ्ग बनाएर भारतलाई सुम्पेका छन् अव ति सम्झौताहरु पनि नेपाल सरकारले तोड्नुपर्ने देखिएको छ । दैलेखमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना मात्र हैन यस्ता थुप्रै आयोजनाहरु अव आम नोपालीहरुले आफ्नो लगानीमा बनाउनुपर्ने बारे सचेतना अभियान थाल्नुपर्ने देखिएको छ । छिमेकीले हाम्रो घाँटी अँठ्याँईरहँदा हामी टुलुटुलु बसेर हेरिरहन मिल्दैन् । नेपाल सरकारले तत्काल दैलेखमा रहेका विभिन्न खानीहरुको समेत उत्खनन् गर्नुपर्ने आवश्यकता देखिएको छ । दैलेखी जनताहरु समेत अब अर्काको भरमा पर्ने नभई स्थानीय उत्पादनलाई महत्वका साथ अगाडी बढाउने अभियानमा लाग्नुपर्ने देखिन्छ ।








