बर्षातको समय सुरु भएको छ । पहाडी जिल्लाहरुमा बाढी पहिरो लगायतका समस्याहरु कायम हुने गरेका छन् भने तराईका जिल्लाहरुमा डुवान लगायतका बिभिन्न समस्याहरु कायमै रहेका छन् ।
गत बर्ष आएको बिनासकारी भूकम्पका कारण नेपालका बिभिन्न स्थानहरुमा बसोवास गर्ने नागरिकहरु अँझै समस्यामा परेका छन् । कतिपय नागरिकहरु घरवार छोडेर विस्थापित हुनु परेका घटनाहरु अहिलेपनि जस्ताको तस्तै देखिने अवस्थामा छन् । भूकम्प पीडितहरु अँझै सम्म आफ्नो घर फर्किन सकेका छैनन् ।
नेपालका बिभिन्न अन्य जिल्लाहरुमा देखिएका समस्याहरु सँगै दैलेखमा हरेक बर्ष बाढी र पहिरोका कारण धन जनको ठूलो क्षती हुने गरेको छ । बर्षात सुरु नहुँदै दैलेख र कालिकोटको सिमानामा पर्ने दहिखोलामा एक जनाको पहिरोका कारण मृत्यु भैसकेको छ ।
जिल्लामा दैवी प्रकोप उद्धारका लागि बिभिन्न सेवामुलक संघ संस्थाहरुले काम संचालन गरिरहेका छन् । मध्यपहाडी सडक निर्माणको असर होस वा अन्य बिभिन्न सडक निर्माणहरु होउन् । सडको नालि निर्माण नगरेर सडक निर्माणका कामहरु गरिने हाम्रो प्रचलनका कारण बर्षाको भल सडक हुँदै बस्तिमा पस्ने र बस्तिनै बिस्थापित हुने समस्या एकातिर कायमै छ भने अर्कोतर्फ योजना बिना निर्माण गरिएका सडकहरुमा करोडौं रकम खर्च गरिएको हुन्छ एक रातको भलले सवै सडक बगाएर पुरानै अवस्थामा ल्याउने गरेको छ । बिशेष गरेर बिपतको पुर्व तयारीका लागि सम्वन्धित निकायहरुले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।








