स्थानीय कच्चा पदार्थहरुको उत्पादन गाउँमा धेरै छ । गाउँमा उत्पादन हुने कच्चा पदार्थहरुको बारेमा जनतालाई पुर्ण र व्यवहारिक ज्ञान नभएका कारण पनि हरेक बर्ष उत्पादन हुने स्थानीय कच्चा पदार्थहरु जंगलमै खेर गएका छन् । अहिले दैलेखका विभिन्न स्थानहरुमा अल्लो, सिस्नो लगायतका उत्पादनहरुको सामान्य प्रयोग हुन थालेको छ ।
स्थानीय कच्चा पदार्थ सँगै गाउँका अधिकाँस स्थानहरुमा अहिले सिपको उपयोग हुन थालेको छ । विगत पाँच बर्ष अघिको मात्रै विश्लेषण गर्ने हो भने सिप सिकेर गाउँमै सामान्य रोजगारी भएका व्यक्तिहरु खोज्न मुस्किल पर्ने गर्दथ्यो तर आजभोली सामान्य सिप सिकेका उद्यमीहरुले गाउँमै सानोतीनो व्यवसाय गरेर बसेका छन् ।
अधिकाँस पुरुषहरु भारत र अन्य मुलुकहरुमा जाने परम्परा जिल्लामा अहिलेपनि कायमै रहेका बेला महिलाहरुले सिकेका सिपहरुको सदुपयोगले सामान्य रोजगारी सृजना भएको छ । गाउँका दुर दराजमा रहेका स्थानीय उत्पादनहरु र उद्यमीहरुको सिपको अँझै व्यवस्थापन गर्न सम्वन्धित निकायहरुले सकेका छैनन् ।
जिल्लामा संचालन भएका साना ठूला सवै गैससहरुको बार्षिक प्रगती प्रतिवेदन हेर्दा बार्षिक रुपमा हजारौंलाई सिप सिकाइएको तथ्याँक सार्वजनिक हुने गरेपनि न्यून मात्रामा उद्यमीहरु गाउँमा देखिएका छन् । न्यूनै मात्रामा भएपनि उत्पादन भएका यस्ता उद्यमीहरुको थप सिप बिकास सँगै बजारीकरणका लागि अन्य सम्वन्धित निकायहरुले थप पहल गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








