सार्क विवादमा नेपालको भूमिका

भारत र पाकिस्तानबीचको विवादले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन प्रभावित हुने संकेत देखिएका बेला अध्यक्ष राष्ट्र रहेको नेपालले कस्तो भूमिका निभाउला चौतर्फी बहसको विषय बनेको छ ।
पाकिस्तानमा हुने भनिएको सम्मेलनमा भारत सहभागी नहुने बताइरहेको छ । नेपालमा दुई वर्षअघि सम्पन्न १८औं शिखर सम्मेलनले १९औं सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने निर्णय गरेको थियो ।
सार्कको बडापत्र अनुसार आवद्ध कुनै एक देश सहभागी नभए सम्मेलन नै नहुने प्रावधान छ ।
भारतलाई पछ्याउँदै सार्क सदस्य राष्ट्रहरू भुटान, बंगलादेश र अफगानिस्तानले पनि सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।
नेपालमै भएको ११औं सार्क सम्मेलनका क्रममा पाकिस्तानका राष्ट्रपतिलाई भारतले आफ्नो आकाशमा उडान अनुमति नदिँदा चीन हुँदै आएका थिए । यस्तै, काठमाडौंमै सम्पन्न १८औं सम्मेलनमा पनि भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्रीबीच संवादहीनता तोडिएको थियो ।
१८औं सम्मेलनपछि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर हुँदै गएको थियो । नेपालले पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने बेलामा समस्या देखिनु सार्क राष्ट्रहरुका लागि दुःखद कुरा पनि हो ।
अहिले स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति अपनाउदै कुनै एक देशको पक्षमा नलागी अध्यक्ष राष्ट्रका हैसियतले पनि निर्धारित समयमै सम्मेलन गराउन नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । सार्क नेपालजस्ता दक्षिण एसियाली साना मुलुकहरूको हितमा रहेकालेपनि ताकिएकै मितिमा सम्मेलन गर्नको लागि अध्यक्ष राष्ट्र रहेको नेपालले सहजीकरण गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार