कर्णाली प्रदेश नेपालको दुर्गम भूगोलमध्ये एक हो । सबैजसोले भन्ने गरेको कर्णालीमा रोग, भोक र अशिक्षामात्रै छैन । कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । जहाँ सम्भावनाका चाङ्ग छन् । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुटी, भेषभूषा, भाषा, संस्कृति मुख्य केन्द्र विन्दु हुन् । जहाँ कृषि नै प्रमुख आर्थिक आधार मानिन्छ। यहाँ उत्पादन हुने स्याउ गुणस्तरका हिसाबले देशभर नै चर्चित छन्। विशेषगरी जुम्ला, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा स्याउको राम्रो उत्पादन हुन्छ। यद्यपि, स्याउको बजारीकरण, ब्राण्डिङ र रोजगारी सृजना गर्ने सम्भावना प्रचुर भए पनि प्रभावकारी नीति तथा संरचनागत अभावका कारण यहाँको स्याउ व्यवसायिक रूपमा अगाडि बढ्न सकेको छैन।कर्णालीका धेरै किसान पारम्परिक रूपमा स्याउ खेतीमा संलग्न छन्। जलवायु उपयुक्त भएकाले यहाँ उत्पादन हुने स्याउ स्वादिलो, मिठो र जैविक हुन्छ। पछिल्लो समय केही कृषक व्यावसायिक रूपमा स्याउ खेतीतर्फ आकर्षित भए पनि उत्पादन लागत, प्रविधिको अभाव र आवश्यक पूर्वाधार नहुँदा उनीहरू प्रतिफलबाट सन्तुष्ट छैनन्।
कर्णालीको स्याउ बजारमा पुग्ने क्रममा विभिन्न समस्या झेल्नुपर्छ। यातायातको अभाव, भण्डारणको असुविधा, व्यावसायिक प्याकेजिङ तथा ब्राण्डिङ नहुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकिरहेका छैनन्। गुणस्तरीय स्याउ भए पनि उपयुक्त ब्राण्डिङ नहुँदा नेपाली बजारमा विदेशी स्याउको माग बढी देखिन्छ। यदि कर्णालीको स्याउलाई व्यवस्थित रूपमा प्रशोधन गरी गुणस्तरीय प्याकेजिङ र उचित प्रचारप्रसार गर्न सकियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको छुट्टै पहिचान बनाउन सकिन्छ। अर्कोतर्फ स्याउ खेती तथा यसको प्रशोधनमा स्थानीय युवालाई समावेश गर्न सकियो भने रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन सक्छन्। यदि आधुनिक प्रविधि प्रयोग गरी स्याउबाट जुस, सुकुटी, अचार तथा अन्य परिकार उत्पादन गरियो भने स्थानीय तहमै उद्योग स्थापना गर्न सकिन्छ। यसले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने मात्र होइन, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर पनि दिन सक्छ।
यहाँ स्याउ खेतीको सम्भावनालाई आधार मानेर तीन तहका सरकारले स्याउको व्यवसायिक उत्पादन, बजारिकरणमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । स्थानीय स्तरमै जुस, सुकुटी आदिको उत्पादन गर्ने प्रशोधन उद्योग खोल्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । अर्कोतर्फ नीति निर्माण, लगानी प्रवद्र्धन, अनुदान तथा प्राविधिक तालिममार्फत किसानलाई सक्षम बनाउनु आवश्यक छ। स्याउ किसानले झेल्दै आएको अर्को ठूलो चुनौती भनेको ढुवानी र भण्डारण हो । यसर्थमा सडक पूर्वाधार तथा चिस्यान केन्द्र स्थापना गरी स्याउ लामो समयसम्म भण्डारण गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा ‘कर्णालीको स्याउ’ ब्राण्डका रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ। यस्ता कार्यहरुलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको खण्डमा कर्णालीको स्याउलाई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ। यसले स्थानीय कृषकको आय वृद्धिसँगै रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ। कर्णालीको स्याउ व्यवसायीकरण र ब्राण्डिङले नेपालको कृषि क्षेत्रलाई समेत सशक्त बनाउनेछ।







